राईहरुको तर्फबाट

.

Zoom In Zoom Out Read Later Print
सगुन सुसारा

पाँचथर जिल्लामा अधिक लिम्बू जातिको बसोबास छ । यो पल्लो किरातको रुपमा कुनै समय परिचित र शासित भू–भाग हो । त्यस कारण पनि पाँचथर जिल्लाको धेरै नामहरु लिम्बू भाषा, संस्कृतिबाट रहन गएकोमा आश्चर्य मान्नु पर्ने कुनै कारण छैन । जहाँ जुन जातिको बसोबास घनारुपमा छ । उनीहरुको संस्कृति, भाषा, रहन सहनले निश्चय पनि प्रभाव पार्दछ । यो हरेक जातिमा हुन्छ । त्यसले कतिलाई सकारात्मक त कतिलाई नकारात्मक प्रभाव पार्दछ । तथापि समाजमा स्थापित भइ सकेपछि त्यो सर्वमान्य नै हुन जान्छ । यही मेसोमा पाँचथरमा पनि लिम्बू जातिको बाहुल्य रहे पनि राई जातिको केही अंश रहेको छ । उनीहरुको भाषा, पाछा र संस्कृति जस्ता कुराहरुबाट ठाउँहरुको नामहरुलाई यहाँ सामान्य परिचय गराउन मात्र खोजेको छु । अर्थात भाषामा कसरी ? कुन कारणले नाम रहन गयो, त्यसको सामान्य परिचय खोज्ने काम गरिएको छ । तथ्यगत कुरा कति छुट्न जाने कुरामा दुइमत छैन । पछिबाट यसलाई संशोधन र परिमार्जन विज्ञहरुबाट पनि हुने नै छ । सल्लाह, सुझाव पनि रहने नै छ ।

  चाम्लिङडाँडा – पाँचथर जिल्लाको च्याङथापु गा.वि.स. वडा नं. ७ (हाल याङवरक गा. पा. वडा नं. १) लाई चाम्लिङडाँडा भनिन्छ, चाम्लिङडाँडा नामले चिनिन्छ । त्यो नाम रहनमा राजबल राईको मुख्य भूमिका थियो । उनी चाम्लिङ (नार्थोङ) पाछाको हुनाले उनको पाछाबाटै यो डाँडाको (गाउँको) नाम रहन गएको हो । उनले यो ठाउँमा रैती राखेको हुनाले नै उनलाई यो सुविधा प्राप्त भएको थियो भन्छन् उनीहरुका दरसन्तान तीर्थ राई । अहिले पनि उनीहरुको (चाम्लिङ राई लगायत अरु राईहरु पनि) यहाँ निकै घनारुपमा बसोबास छ । पाँचथरको सुदूर उत्तरी भागमा राईहरुको बाहुल्य बसोबास रहेको रुपमा पनि यसलाई चिन्ने गरिन्छ । 

राईगाउँ – पाँचथर जिल्लाको अमरपुर गा.वि.स. को वडा नं. १ (हाल हिलिहाङ गा. पा. वडा नं. १) लाई चाँही राई गाउँ भनेर अहिले चिनिन थालेको छ । यसो हुनमा यहाँ पनि राईहरुको अधिक बसोबास हुनु नै हो । खास गरी प्रजातन्त्रको पुनः स्थापनापछि मात्र यो गाउँलाई राईगाउँको रुपमा चिनिन थालेको हो । यो गाउँमा सबैभन्दा पहिले खालिङ (ल्यातोस) पाछा आएर बसोबास गरेका हुन भन्छन् स्थानीयहरु । त्यसमा पनि बाघधन खालिङ सबैभन्दा पहिला यहाँ आएर बसेका हुन भन्ने कथन छ । उनी सोलुखुम्बुबाट आएका हुन । उनको आठौं पुस्ताका सन्तान खडग खालिङका अनुसार बाघधनको श्रीमति अरुले लगेपछि जारलाई काटेर यता आएका थिए रे । यसरी भाग्नुमा ज्यान जोगाउनका लागि हो । अर्थात जार काट्ने चलनले आफ्नो घर (भू–भाग) छाड्न वाध्य हुनु पर्छ । हुन त अहिले त्यहाँ खालिङ, चाम्लिङ, थुलुङ पाछाका राईहरुको बसोबास छ । 

रबि – पाँचथर जिल्लाको रबि गा.वि.स. (हाल मिक्लाजुङ गा. पा. ४) चाँही रबिकर्ण राईको नामबाट स्थापित भएको हो । उनी दुमि राङकासु पाछाका थिए । रबिकर्ण राई खोटाङको बाक्सिला गा.वि.स.को मानेडाँडा सिम्पानी बाट १८५५ सालमा हालको रबि तीन खेसाङखोप्पामा बसाइँ सरी आई तत्कालिन राजथरी बिर्दावली राईको कारवारी भई राम्रो काम गरेकोले उनलाई धनकुटा गौंडाबाट राजथरीको पद लिई काम गरेको थिए । राजथरी भएपछि वि.सं. १८७० सालमा हाल सालिक (रबिकर्ण) स्थापना भएको स्थानमा वैशाख पूर्णिमाको दिन चार थुमको सुब्बा र रैतीहरुलाई भेला गराएर उखु र केरा बाँडी आइन्दा यस ठाउँमा औंशी र पूर्णिमा तिथिमा इन्द्रेणी बजार लगाउने घोषणा गरे । पछि चार थुमका थरी, सुब्बाहरुले रबिकर्ण राईले लगाएको बजार भएकोले इन्द्रेणी बजारको सट्टा रबि बजार नाम नामाकरण गरि हटिया लगाउन थाले – लाग्न थाल्यो । यही रबि बजारलाई पछिबाट रबि गा.वि.स.को रुपमा नामाकरण भयो । र अहिले रबि गा.वि.स.छ । यही गा.वि.स.मा रहेका अनेक वडामा पनि राई बान्तावा भाषाबाट गाउँको नाम राखिएको छ । रबि ८, ९, २ (हाल मिक्लाजुङ ४) लाई थामथुम भनिएको छ । यसका बारेमा केही बुढापाकाको कथन यस्तो छ ः— 

थामथुम – युद्ध चल्दै गर्दा अग्लो डाँडामा सभा बसी युद्ध थामियो । त्यसरी सभा बसी युद्ध थामिएका डाँडालाई थामडाँडा र त्यहाँबाट उँधोतिर देखिएको गाउँलाई नै थामथुम भनिएको रे । —लाहा सिं राई, बर्ष–५४ (०९÷१०÷२०६७ को वार्ता)

झैं झगडाको मुद्धा चल्दै थियो । त्यही क्रममा थरीको फैसलाले यही गाउँमा त्यो झै झगडा थामिएकोले यो गाउँलाई थामथुम भनिएको रे । —नन्दबहादुर राई, बर्ष–८७ (०९÷१०÷२०६७ को वार्ता)

युद्ध गर्दै आउँदा थामलेखमा आइपुग्दा युद्ध थामिएकोले त्यस भेगको गाउँको नाम थामथुम भनिएको रे । —खम्ब सिं राई, बर्ष–६० (११÷१०÷२०६७ को वार्ता)
थुम्का र थाम्की भएर डाँडै डाँडाले घेरिएको गाउँ भएकोले थामथुम गाउँ भनिएको रे । —हर्कप्रसाद राई, बर्ष–५५ (०९÷१०÷२०६७ को वार्ता)

यो गाउँको शीरमा तीन थुम्का भएकोले टाढाबाट हेर्दा थाम थाम थुम थुम देखिने हुनाले यो गाउँको नाम थामथुम भएको रे । —जै बहादुर राई, बर्ष–६४ (११÷१०÷२०६७ को वार्ता)

खेसाङ खोप्पा – यसै गरी रबि १, ३ र ४ वडा नं. (हाल मिक्लाजुङ ४) लाई खेसाङ खोप्पा भनिन्छ । खास गरी यो वडाहरु चाँही जरिबुटेडाँडा (जहाँ बढी जडिबुटी पाइन्छ) को आसपासमा पर्ने हुनाले त्यही जडिबुटी मध्येको एक नामबाट रहन गएको भन्छन् बुढापाका । यी वडाहरुमा खेसाङ (जो जाँड बनाउन प्रयोग गरिने माउको नाम, अर्थात मर्चा बनाउने माउको नाम) बढी नै पाइन्थ्यो रे अघि । त्यही ‘खेसाङ’ खोपै खोपमा पाउने हुनाले यो गाउँको नाम खेसाङ खोप्पा रहन गएको हो । 

मिक्लाचोम – पाँचथर जिल्लाको दक्षिणी भेगमा रहेको लिम्बा गा.वि.स. वडा नं. ८  (हाल मिक्लाजुङ ७) मा अवस्थित मिक्लाचोम डाँडा पनि राई बान्तावा भाषाबाट नामाकरण भएको हो । खास गरी यहाँ मालिङगो पाइन्छ । यसलाई राईहरु मिक्ला भन्छन् । यो मालिङगो घारी माथि माथि चुच्चो हुँदै गएकोले चोम (चुच्चो) भएको हो । चुच्चो हुनुलाई चोम भएकोले यसको नाम मिक्लाचोम भएको भनाई स्थानीय राईहरु भन्छन् । यो डाँडाले धनकुटा, मोरङ, झापा, सुनसरी, पाँचथर जिल्लालाई छुन्छ । 

लेखाटेन – यही लिम्बा गा.वि.स.को वडा नंं. ८ (हाल मिक्लाजुङ ७) लाई लेखाटेन (लेखगाउँ) भनिन्छ । यो लेखमा भएकोले यसको नाम लेखगाउँ भएको हो ।
 
फुङसेन – पाँचथर जिल्लाको सराङडाँडा गा.वि.स. (हाल मिक्लाजुङ २) वडा ४ र ३ मा अवस्थित एउटा डाँडा छ फुङसेन । यो डाँडाको नामाकरण रहनमा पनि राई बान्तावा भाषाको प्रयोग भएको छ । यहाँ प्रत्येक बर्ष वैशाखे पूर्णिमामा मेला लाग्छ । यो मेलाबाट उमेर पुगेका युुवा युवती मन मिलेर भाग्थे । विबाह गर्थे । यसरी भागे पछि, विबाह गरे पछि घरका अभिभावकले सोध्ने गर्थे रे । अर्थात भागेपछि सोधेका हुनाले यो ठाउँको नाम फुङ (भाग्नु) सेन (सोध्नु) राखिएको रे । राई बान्तावामा ‘फुङ’ भनेको भाग्छ, भाग्नु र ‘सेन’ भनेको सोध्छ÷सोध्नु हुन्छ । यसरी यो डाँडाको नाम यस्तो रहन गएको भन्छन् स्थानीयहरु । 

चिम्फुला – पौवासारताप गा.वि.स.को वडा नं. ७ (हाल फाल्गुनन्द गा. पा. ३) लाई चिम्फुला भनिन्छ । यो पनि किरात राई बान्तावा भाषाबाट आएको छ । चिम्फु भनेको राई बान्तावा भाषामा सौर हो भने ला भनेको घारी भन्ने बुझिन्छ । पहिला यहाँ सौरको घारी भएकाले यो गाउँलाई चिम्फुला भनिएको भन्छन् स्थानीय सिरेन राई । अहिले यो चिम्फुको रुख भने कम मात्र देख्न पाइन्छ यो ठाउँमा । 

जेभाले – पाँचथर जिल्लाकै लुङरुपाको वडा नं. १ (हाल फिदिम न. पा. १३) लाई जेभाले भनिन्छ । खासमा यसको नाम झेपाले हो तर पछिबाट अपभ्रंश भई जेभाले भएको भन्छन् स्थानीय गजेन्द्र राई । उनका अनुसारर खासमा यहाँ पनि ज्यादै बाघ, भालू लाग्थ्यो रे । र तीनीलाई मार्न राईहरुले झेपालो अत्याधिक थाप्थे रे । त्यही झेपालो थाप्दा थाप्दा पछिबाट यस ठाउँको नाम नै झेपाले (जेभाले) भएको हो । 

चाम्लिङडाँडा – लुङरुपा गा.वि.स.को वडा नं. ३ (हाल फिदिम न. पा. १३) मा चाम्लिङडाडा रहेको छ । यहाँ सबभन्दा पहिला सिदिनबाट कालुपति चाम्लिङ आइ बसोबास गरेको भन्ने कुरा उनको सन्तान महेन्द्र चाम्लिङ बताउँछन् । 

खालिङखोप – लुङरुपामै खालिङखोप भन्ने ठाउँ छ । यहाँ पहिला पुरसुने खालिङ आई बसोबास गरेको थिए रे ? उनको बसोबाससँगै यो ठाउँलाई खालिङखोप भनियो । तर हाल उनको कुनै पनि सन्तान यहाँ पाइएको छैन भन्छन् स्थानीय महेन्द्र चाम्लिङ । 

इम्सावा – सिदिन गा.वि.स.को वडा नं. ४ (हाल फालेलुङ ६) लाई इम्सावा भनिन्छ । यसो हुनमा पारि प्राङबुङको खेदोकबाट हेर्दा जहिल्यै एउटा मान्छे सुतेको जस्तो देखिन्थ्यो रे । राई बान्तावामा इम्सा भनेको सुतेको हो । त्यही सुतेको जस्तो भएर नै इम्सावा रहन गएको भन्छन् स्थानीय श्याम राई । 

यसरी अध्ययन, अनुसन्धान र खोज गर्दै जाँदा पाँचथर जिल्लामा पनि किरात राई बान्तावा भाषाबाट बिभिन्न गाउँ, ठाउँ, टोल, डाँडाकाँडा, भञ्ज्याङ, देउराली, खोला नाला, पाखा, भीरको नामाकरण भएको अवस्य पाइन्छ । तथापि कतिको अभिलेखन नभएर त्यो त्यही सिमित भएको छ । त्यसको लेखा हुनु पर्दछ । यसका लागि आउने हातहरुलाई सलाम भन्छु । मेरा यी प्रयासहरु पनि निरन्तर रहने नै छन् । सुझाव, सल्लाह, प्रतिक्रियाका लागि त झन सधैं ढोका खुला रहने छ । यो पहिचानको बाटोलाई सबैले मनन गर्न जरुरी पनि छ । विविधताको यो भागलाई नेपाली समाजको दर्पण मानेमा अन्यथा हुने छैन ।

( नोट ः– यो मेरो प्रकाशोन्मुख पुस्तक ‘पाँचथरमा राईहरु’ को एक भाग हो । यस्ता कुनै ठाउँहरु तपाइँको गाउँघरमा छ भने जानकारी, सल्लाह, सुझाव, प्रतिक्रिया पाउँ ।
९८१४९३४०९९, ९८६२६६३६७७,
sagunsusara@gmail.com