सम्पादनमा राईहरु

.

Zoom In Zoom Out Read Later Print
सगुन सुसारा

पाँचथरमा किरात राईहरुले पनि पत्रकारिता (साहित्यिक, व्यवसायिक) क्षेत्रमा काम गर्दै आएका छन् । यो क्षेत्रमा काम गर्नेहरु के कति छन् ? त्यसको लेखा पनि हुनु पर्छ । यो इतिहासलाई हामीले अभिलेखन पनि गर्नु पर्ने हुन्छ । किरात राईहरुको कति इतिहास यसरी नै अभिलेखको कमीले कति हराएका छन् । कति हराउने अवस्थामा छन् । यसको जर्गेना नै अभिलेखन हो । यो कामलाई सानो आँखीझ्यालको रुपमा राख्न सकेमा पनि यो आलेखको महत्व बढ्ने छ । भावी सन्ततीलाई काम लाग्ला ? इतिहास खोज्न । थपघट गर्न । अधूरा कुरालाई पुरा गर्न । यो एउटा बाटोको लागि ।

नकु बान्तावा ः— 

पाँचथरमा सर्वप्रथम सम्पादक भएर पत्रकारिता गर्ने काम नकु बान्तावाले गरेकोे अभिलेख पाइन्छ । व्यवसायिक पत्रकारिताको सम्पादक राईहरुमा उनी पहिलो हुन । उनको जन्म नागी गा.वि.स.मा भएको हो । उनको खास नाम नरेन्द्र कुमार राई (खेरेक्सÞङ) हो । उनले जनचासो साप्ताहिकको सम्पादन २०४७ सालमा गरेका थिए । खास गरी नागबेलीमा पनि काम गरेका थिए । तर उक्त समूहमा खटपट भए पछि उनी जनचासोको सम्पादन र प्रकाशनमा लागेका हुन । सायद उनी नै पत्रकारितामा लागेर सम्पादन गर्ने राईहरुमा पहिलो व्यक्ति हुन । उनको सम्पादनमा त्यो पत्रिका झण्डै बर्षसम्म प्रकाशन भयो । 

सगुन सुसारा ः— 

२०५६ साल मंसीरमा तुम्बेवा मासिक साहित्यिक पत्रिका सम्पादन गरेर साहित्यिक पत्रकारितामा सम्पादक बनेका हुन सगुन सुसारा । उनको खास नाम सुसन राई (राना साङपाङ) हो । साहित्यिक पत्रकारितामा उनी पहिलो सम्पादक हुन कि ? उनको जन्म रबि गा.वि.स.मा भएको हो । तुम्बेवा एक अंक मात्र प्रकाशन हुन सक्यो । र पछि अरुले नै यो पत्रिका सम्पादन गर्न थाले । २०५७ सालको भदौ असोजमा श्रृङ्खला द्वैमासिक साहित्यिक पत्रिका पनि सम्पादन गरेको पाइन्छ । यो तीन अङ्कसम्म प्रकाशन भएको पाइन्छ । यसलाई पनि पछिबाट अरुले नै सम्पादन गर्न थाले । २०६० साल पुषमा प्रकाशित चक्रव्यूह साहित्यिक पत्रिका पनि सगुन सुसाराले सम्पादन गरेका हुन । यो उत्तरवर्ती सोचको मुख पत्र हो । साहित्यिक आन्दोलनको पत्रिका हो । यसले उत्तरवर्ती सोचलाई अघि बढाएको थियो । यो पत्रिका चौथो अङ्कसम्म प्रकाशित छ । २०६२ सालमा प्रकाशित साहित्यिक ताङ्का पत्रिका पनि अतिथि सम्पादक भए पनि सम्पादकीय भने सगुन सुसाराले लेखेका हुन । यो एक अङ्क मात्र प्रकाशित भयो ।

विरदल विकल ः—

विरदल विकल लुङरुपा गा. वि. स. मा जन्मेका हुन । उनको खास नाम विरदल राई (दावा) हो । अपरेशसन साप्ताहिकको प्रकाशक बनेर २०५६ माघ पत्रिका प्रकाशनमा ल्याए पनि सम्पादनको काम पनि गरेका हुन । व्यवसायिक पत्रकारीता नभएका कारण यसो भएको हो भन्ने उनको भनाइ छ । अपरेशन साप्ताहिकले पनि लामो आयु पाउन सकेन । 

राजेन्द्र सोझे राई ः—

पौवासारतापमा गा.वि.स.मा जन्मेका हुन राजेन्द्र सोझे राई । उनले २०५७ सालमा नूतन पाइला साहित्यिक पत्रिका सम्पादन गरेको पाइन्छ । यो पत्रिकाले झण्डै आधा दर्जन अङ्क प्रकाशित हुने अवसर पायो । यसले गर्दा राजेन्द्र सोझे राईलाई पनि लामो समय सम्पादक हुने अवसर प्राप्त भएन ।

भगिराज घायल ः— 

२०५८ सालबाट गुराँस साहित्यिक पत्रिकाको सम्पादन थालेका हुन भगिराज घायलले । उनको जन्म एक्तिन गा.वि.स.मा भएको हो । उनको खास नाम भगिराज राई (विराहाङ) हो । उनको सम्पादनमा गुराँस पाँच बर्ष भन्दा लामो सयम फुलेको थियो । पाँच बर्षको समय भनेको निकै लामो समय हो । यस्तो भाग्य थोरैले मात्र पाउन सक्छन् । 
 
राज चाम्लिङ ः—

२०५९ साल असोजदेखि हृदयको वेदना मासिक साहित्यिक पत्रिकाको सम्पादन थालेका हुन । उनको जन्म लुम्फाबुङ गा.वि.स.मा भएको हो । उनको पत्रिका केही बर्षसम्म सञ्चालनमा आएको थियो । 

पदमेश थुलुङ ः—

रानीटार गा.वि.स.मा जन्मेका हुन पदमेश थुलुङ । विडम्बना, राज्य पक्षबाट उनी २०६० सालमा मारिए । जतिखेर द्वन्दको चरम उत्कर्ष थियो । उनले २०५९ सालको कार्तिक—मंसीरबट मेचीकाली द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादन थालेका थिए । उनले बर्ष भन्दा लामो समय सो पत्रिका सम्पादन गरेका थिए । उनको हत्यापछि उनका सहकर्मी साथीहरुले त्यसलाई केही समय सम्पादन गरेका थिए । 

नरेन्द्र राई ः—

फिदिम गा.वि.स.मा जन्मेका हुन नरेन्द्र राई । उनी पोकेसङ चाम्लिङ राई हुन । उनले २०५९ सालको पुष—माघबाट सृजना सागर द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादन थालेका हुन । उनको सम्पादनमा निस्केको पत्रिकाले पनि बर्ष भन्दा लामो समयको आयु पाएन । 

पुष्पाञ्जली राई ः—

२०६१ सालको माघ—फागुनबाट चेली द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादन गरेका हुन पुष्पाञ्जली राईले । उनी सिदिन गा.वि.स.मा जन्मेका हुन । उनी बाछाना राई हुन । उनको सम्पादनमा निस्केको पत्रिकाले दुई बर्ष भन्दा लामो आयु पायो । त्यसपछि उनले निशावेन्ला पत्रिका सम्पादन गरिन । किराती चेलीहरुमा उनी पनि पहिलो सम्पादक भइन – साहित्यिक पत्रिकाको । 

रेना राई ः—
२०६१÷६२ सालको चैत—जेठबाट प्रेरणा त्रैमासिक साहित्यिक पत्रिकाको सम्पादक भएर सम्पादकको भूमिका निर्वाह गरेको पाइन्छ रेना राईले । उनको जन्म एक्तिन गा.वि.स.मा भएको हो । उनी विराहाङ राई थिइन । उनको सम्पादनमा आएको पत्रिकाले दुई बर्ष भन्दा लामो समय बितायो । उनी किराती चेलीहरुमा दोस्रो सम्पादक हुन । उनी पछि अर्को किराती चेली सम्पादक भएर आउन सकेको छैन ।

सुरेन्द्र बान्तावा ः—

सिदिन गा.वि.स.मा जन्मेका हुन सुरेन्द्र बान्तावा । उनी याङमा राई हुन । २०६२ सालको बैशाख—जेठबाट परिवेश द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादन गरेका थिए । उनको सम्पादन कार्य झण्डै दुई बर्ष रह्यो । 

नरेन्द्र बान्तावा ः— 

नरेन्द्र बान्तावाको जन्म लिम्बा गा.वि.स.मा भएको हो । उनले २०६२ सालको भदौ—असोजबाट सप्तरङ्गी द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादन थालेका थिए । यो पत्रिकाले पनि लामो आयु पाउन सकेन । बर्ष दिन भन्दा लामो प्रकाशित हुन सकेन । 

टि.के.राई (तेजु) ः—

फलैंचा गा.वि.स.मा जन्मेका हुन टि.के.राई (तेजु) । उनको खास नाम तेजकुमार राई (दुमि) हो । २०६२ सालको पुष—फागुनबाट मेजर त्रैमासिक साहित्यिक पत्रिकाको सम्पादन थालेको पाइन्छ । उनको सम्पादन कार्य बर्ष दिन भन्दा लामो हुन सकेन । 

सन्दिप झझल्को ः—

२०६२ सालमा प्रकाशित निशावेन्लामा सम्पादक भनेर सन्दिप झझल्को छ । उनी सम्पादक भए पनि सम्पादनको भूमिका अलि कम थियो उनको । उनको जन्म मेमेङ गा.वि.स.मा भएको हो । उनी मतिहाङ साम्पाङ हुन । त्यो निशावेन्लाको पहिलो अङ्कबाट उनलाई  सम्पादकबाट पछि हटाइयो । र, पछिबाट त्यसलाई अरुले सम्पादन गर्न थाले । २०६९ सालमा उनी पव्लिक टाइम्स साप्ताहिकको सम्पादक भए । यो अखवारिता पत्रिका थियो । थुप्रै साहित्यिक भीडमा आएको हो यो पत्रिका । 

अर्जुन अन्योल ः—

पाँचथरको एक्तिनमा जन्मेका हुन अर्जुन अन्योल । उनको खास नाम अजुन राई (रुम्दालि) हो । २०६३ सालबाट सुन्दर फूल चौमासिक साहित्यिक पत्रिकाको सम्पादन थालेका हुन । उनले त्यो सुन्दर फूल साढे दुई बर्ष जति मात्र फुलाए ।

मिलन पारु ः— 

मेमेङ गा.वि.स.मा जन्मेका हुन मिलन पारु । उनको खास नाम मिलन राई हो । उनले २०६५ सालको श्रावण—कार्तिकबाट पारिजात चौमासिक साहित्यिक पत्रिकाको प्रधान सम्पादकमा रहेर काम थालेका हुन । उनी खासमा पहिलो अङ्कमा मात्र उपस्थित थिए । यो पत्रिका उनको सम्पादन भनेर चार अङ्क प्रकाशित भयो ।
 
मनकुमार मानस ः—

मेमेङ गा.वि.स.मा जन्मेका हुन मनकुमार मानस । उनको खास नाम मनकुमार राई (हाङखिम) हो । उनले २०६५ सालको श्रावण—कार्तिकबाट पारिजात चौमासिक साहित्यिक पत्रिकाको सम्पादन थालेका हुन । उनले २०७० सालमा पाँचथरे कविता विशेषाङ्कको सम्पादन गरेका छन् । जहाँ तत्कालिन पाँचथरमा नै बसोबास गरेर कविता कर्म गर्नेहरुको मात्र कविता समेटिएको थियो । 

हर्क अञ्जान ः— 

मेमेङ गा.वि.स.मा जन्मेका हुन हर्क अञ्जान । उनको खास नाम हर्क राई (मतिहाङ) हो । २०६६ भदौबाट कञ्चन दर्पण मासिक साहित्यिक पत्रिकाको सम्पादन गरेर सम्पादक बनेका हुन । उनको सम्पादन कार्य पनि लामो समय रहन सकेन । यो पत्रिकाले दुई अङ्क मात्र प्रकाशित हुने मौका पायो । 

रेशन त्यागी ः—

फिदिम गा.वि.स.मा जन्मेका हुन रेशन त्यागी । उनको खास नाम रमेश राई (सिप्तुङखा) हो । उनले २०६७ सालबाट अभिलाषा द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादन थालेका हुन । तीन बर्षसम्म उनको पत्रिका केही व्यवधानका साथ प्रकाशित भयो ।
 
यो विवरणले के थाहा लाग्छ भने सम्पादनमा पनि साहित्यिक पत्रिकाको भाग धेर देखिन्छ । अखवार पत्रिकाको भागमा दुई मात्र देखिन्छ । हुन चाँही अखवारबाट नै पाँचथरे किरात राईहरुमा सम्पादको सहभागिता देखिन्छ । तर यो व्यवसायिक हुन सकेन । त्यसको फरक रुपमा साहित्यिक पत्रिकाको अवस्था देखिन्छ । यो अवस्थाले किरात राईहरुमा साहित्यमा रुची धेर भएको हो कि ? भन्ने भान पर्न जान्छ । धेरैको कलम पनि यसैमा घोटिन्दैछ । 

यो तथ्याङ्कले के भन्न सकिन्छ भने सबैलाई आफ्नो दायित्वप्रति पूर्ण ज्ञान नभएर हो कि ? पत्रिकाहरु लामो समय निस्कन नसकेको ? किन भने धेरै सम्पादकरु लहडमा आएको जस्तो देखिन्छ । जसको परिणाम पत्रिका मर्न पुग्यो । केही पत्रिकाले पुनर्जीवन पाउन खोजे पनि त्यो निभ्ने बेलाको उज्यालो मात्र भयो । यसकारण पत्रिका सञ्चालनमा केही सुझबुझ, केही ज्ञान, केही धैर्यता, केही लगनशीलता पनि चाहिन्छ कि ? नत्र रहरको खेती बाहेक केही हुन्न रहेछ ।