सादगी नेताको सम्झना

.

Zoom In Zoom Out Read Later Print
सगुन सुसारा 

‘सरकार भनेको एउटा मात्रै यस्तो निकाय हो, जसले बल प्रयोग गर्दा त्यो अवैधानिक हुदैन ।’
                                                                                                                        – म्याक्स वेबर


यो भनाइले धेरै सोच्न वाध्य बनाउँछ । अर्थात सोचि बस्छु । के साँच्चै सरकार बल प्रयोग गर्ने निकाय हो ? के बल नै प्रयोग गर्नु पर्छ र ? कसमाथि गर्ने ? किन गर्ने ? के का लागि गर्ने ? उत्तर पाउँदिन । बरु सोच्छु, सरकार त जनताप्रति उत्तरदायी हुनु पर्ने ? जनताप्रति समर्पित हुनु पर्ने ? हो, विचारकहरुलाई कति खेर के ले छुन्छ ? के कुरामा डुबुल्की मार्छन् ? केही थाहा हुन्न । तर त्यो जीवन, जगतका लागि अपरिहार्य र शास्वत हुन्छन्, बन्छन् । अनि त्यसलाई हामी हाम्रो जीवनमा, व्यवहारमा लागू गर्छौं । म्याक्स वेबरको माथिको भनाई पनि हाम्रा लागि जीवन्त छन् कि ? विकासका लागि, भलाईका लागि, उन्नतिका लागि कहिले काँही बल नै प्रयोग गर्नु पर्छ क्यार ? हो, सकारात्मक परिवर्तनका लागि पनि कहिले काँही बल प्रयोग गर्नु पर्छ । र त्यसलाई अवैधानिक मानिँदैन । बस, एत्ति भनेर चित्त बुझाउँछु । तर्कका लागि, कुराका लागि, अझै कुरैका लागि त कति छन् ? मनमा । हो, त्यही सरकारमा पनि प्रजातान्त्रिक मुलूकमा जनताबाट निर्वाचित मात्र पुग्छन्, रहन्छन् । एकात्मक र सामन्ती मुलूकमा सायद त्यो मौका हुदैन । ती सबै जनताकै छोरा, छोरी हुन । त्यो ‘निकाय’मा पुगे पछि गर्ने, हुने व्यवहारले कहिले काँही, सरकार र सत्ताको उत्थान र पतनको ढोका खोल्छ । कति जनताले सम्झी रहने हुन्छन् भने कति वास्तै हुदैन । त्यो भनेको ‘उसको’ काम, कर्तव्यले नै निर्धारण गर्ने कुरा हो ।

 

पाँचथर जिल्लामा जन्मेर धेरैले (नेताहरुले) सरकारको (नेतृत्वको) स्वाद चाख्न पाए । त्यसो त जनताले पनि विभिन्न व्यवस्थासहितको सरकारको नेतृत्व चाख्न नपाएको काँ हो र ? म आफैंले पञ्चायती व्यवस्था, प्रजातान्त्रिक व्यवस्था, लोकतान्त्रिक गणतन्त्र व्यवस्था भोग्न पाएँ । अझै संघियता पनि । लगभग आधा शताब्दीमा यत्रो व्यवस्था परिवर्तन हुनु त्यति राम्रो हो जस्तो लाग्दैन । तर परिस्थितिले यस्तै ग¥यो, ल्यायो । अझै हामी नै लाग्यौं । तर, व्यवस्था परिवर्तन भए जस्तो सामाजिक, आर्थिक, राजनैतिक अझ साँस्कृतिन परिवर्तन भए जस्तो झन लाग्दैन । व्यवस्थाको (पार्टीको) लुँडे धोती मात्र बोकि रहयौं जस्तो लाग्छ । त्यो एकातिर राम्रो होला ? एकातिर नराम्रो पनि भए कि ? हिसाब किताब राख्ने जिम्मा आ–आफ्नो । मेरो खास सिकायत छैन । तर कतै मेरो आफ्नै दलिल (ढिपि) छ । सायद यही भएर विचारमा फरक छौं, व्यवहारमा फरक छौं । यो खण्डनका भाग हामी (मान्छे) । 

अँ, पाँचथर जिल्लामा धेरै चुनावमा हारुवाको लोगो नै लागि सकेका नेतामा पर्थे पूर्ण कुमार शेर्मा । मैले थाहा पाउँदा देखि नै उनी नेपाली काङग्रेसका नेता । खासमा राजनीति बुझे पछि (मैले) चैं उनी नेपाली काङग्रेसका केन्द्रीय सदस्य । हाम्रो घर केही घण्टाको टाढा भए पनि भेट हुन सकेको थिएन । २०६२÷६३ को आन्दोलनसम्म पनि भेट थिएन । फिदिम बसेको दशक बिति सकेको थियो तर शेर्मासँग भेट भा को थिएन । फिदिममा उनको घर था थियो । उनले कान्छी श्रीमति यतै (फिदिम) राखेका छन् सम्म था थियो । पहिलाका नेताहरु धेरैको एक भन्दा बढी श्रीमति थियो । यो किन भयो मैले कसैलाई सोधेको छैन । अझ हुने खानेको पनि । त्यतिखेर महिला आजको अनुपातमा कम थिए । र पनि त्यस्तो अवस्था (बहुपत्नी, सौता) थियो । आज महिलाको सङ्ख्या पुरुष भन्दा बढी छ । तर कानून छ, बहु पत्नी (एक भन्दा बढी) राख्न नपानइने । कुनै तुक छ जस्तो लाग्दैन । सायद यही होला सरकारले बल प्रयोग गर्दा अवैधानिक नहुने । लोकतान्त्रिक गणतन्त्रको आन्दोलनका क्रममा जिल्लाका नेताहरुसँग निकै हिमचिम बढ्यो । एक दिन नेपाली काङग्रेसका नेता (सभापति) नरेन्द्र केरुङले (साथमा बिर्जहाङ आङदेम्बे, डिकेन्द्र चेम्जोङ, डेकेन्द्र तामाङ, धनकुमार लावती लगायत अरु पनि थिए) तान्दै पूर्ण कुमार शेर्माको घरमा लगे । चिनजान भयो । खास वास्ता गर्नु भएन । आँखा अलि कम देख्ने र’छन् । म पनि वास्ता नगर्नेलाई ‘बाल’ निदिने मान्छे । अँ, मलाई पनि काङ्ग्रेस कै सम्झेर होला पार्टीभित्र आचरण हराको, सिद्धान्त हराको दुखेसो पोखे – जिल्ला सभापति लगायत आस्थावानालाई । हुन पनि उहाँ जसरी कटिबद्ध पार्टीका नेताहरु भन्दा पछिल्ला पुस्ताहरुको केन्द्रमा हावी हुन थाल्यो । उनले भनेका थिए –‘अब काङग्रेस सकिन्दैछ । न पार्टीमा प्रतिवद्ध कार्यकर्ता छन् । न नेता इमान्दार छन् । बि.पि.को सिद्धान्त पोलेर खाइ सके । बर्षौं, लगानी गर्नेलाई पाखा लगाइन्दैछ । साहृै चित्त दुखेर आउँछ । अब त ज्यानले पनि साथ दिन छाड्यो ।’ सभापति केरुङले उनको निकै तारिफ गरे । लगानीको हिसाबले ठिकै लाग्यो । त्यस पछि केही कार्यक्रमहरुमा शेर्मासँग भेटघाट भइ रह्यो । उनै निराश नेताले २०६४ को संविधानसभा सदस्यमा (२०६४ चैत २८ गते नेपालमा पहिलो संविधानसभाको निर्वाचन भएको थियो) पाँचथर जिल्ला क्षेत्र नं. १ बाट चुनाव जिते । निकटतम प्रतिद्वन्दी गणेश काम्बाङलाई सात मतले पछि पार्दै । त्यसपछि, हारुवाको पदवी त्यसै खारेज भयो कि ? 

पूर्ण कुमार शेर्मा सादगी नेता । संविधानसभाको सदस्य भए पछि सरकार परिवर्तनका क्रममा माधवकुमार नेपाल प्रधानमन्त्री (मिलिजुलि सरकार) हुँदा पूर्ण कुमार शेर्मा स्थानीय विकास मन्त्री (२०६६ जेठ २ देखि २०६७ माघ २३ सम्म) भए । उनी यो मन्त्री हुँदा राँके रबि पिच (कालोपत्रे) हुने आशा (मन्त्रालयको हिसाबले) थियो तर भएन । सायद, बल प्रयोग भएन होला ? म्याक्स वेबरले यतिखेर बल प्रयोग गर्ने भनेको होला कि ? ओ हो मन्त्री भए पछि त सान मान नै अर्को भेटन पनि समय लिनु पर्ने । शेर्मा निवास भिडभाड (मन्त्री पद रहेसम्म) रहिरह्यो । गार्ड, बडीगार्ड (सुरक्षा), गाडी – सत्ताको तागत थियो त्यो । म सत्ता कहिल्यै मन नपराउने मान्छे । एक दिन पनि मन्त्रीलाई भेट्न गइन । भेटेर हुने कुरा थुप्रै थिए होलान् ? सायद त्यो गुमाएँ । 
मन्त्री पद गयो पूर्ण कुमार शेर्माको । हामी छिमेकी गा.वि.स.को – अहिले एउटै गाउँ पालिका । म रबि फिदिम, शेर्मा सराङ फिदिम (तलमाथि, माथितल) गर्नु पर्ने । एक दिन बसमा सँगै आयौं । सप्तमीबाट शेर्मा बसमा चढे । बसमा सिट खाली थिएन । उभिएर आउनु पर्ने भो । घुर्विसे पञ्चमीमा मानिस थपिए । कन्डक्टरले हप्काए –‘बाजे अलि पर सर्नु त ।’ शेर्मा मलिन बोले –‘खै नानी ठाउँ नै छैन ।’ कच्ची बाटोमा पाको मान्छेलाई बसले हल्लाएर हैरान । यो दुःखदायी दृश्य हेरेर म चकित परेँ । हिजो सरकारमा रहँदा बल प्रयोग गरेर बाटो खाली पारेर हुँइकिने मन्त्री आज बसमा पनि कन्डक्टरको हप्की खानु पर्ने ? सायद यही हो जीवन विचित्रको भनेको । उफ । खासमा यो उनको सादगी पनको बेफाइदा थियो । कहिले काँही हाम्रा आफ्नै बानीहरुले घाटा लाउँछ । त्यही भयो शेर्मालाई । त्यही भएर सादगी नेता भन्न मन लाग्छ । लाग्छ, मन्त्री भएर पनि देशका लागि घाटा लाग्ने काम चैं शेर्माले गरेनन् कि ? कसैलाई होचो अर्घेलो नगर्ने नेतामा पर्छन् कि ? त्यो त भोग्नेलाई मात्र थाहा छ । बरु सोच्छु, यस्तै सादगी नेताको खाँचो छ देशलाई । तर सादगी भएर पनि आफ्नो पदलाई प्रयोग गर्ने नेता चाहिएको छ । अहिले ठिक उल्टो भा छ । पार्टीलाई, देशलाई इमान्दारका साथ काम गर्ने नेताहरुलाई पछि धकेलिँदै ‘आउट’ नै पारिन्छ । लोकाचार वालाको मात्र स्थान छ । जीवनमा पहिलो पटक (राजनीतिमा पहिलो होला तर जीवनमा होइन) चुनाव जीतेर धन्न, एक पटक मन्त्री बने । राजनीतिको लगानीको प्रतिफल यही होला ? त्यसको स्वाद चाख्न त पाए । कति कति यस्ता सादगी नेताहरु गाउँमा निराशाले कुन्जिएर बसेका छन् । अरु, पक्ष, प्रतिपक्षले भन्ने छन् ।