पाँचथरका पत्रकारको आरडीटी परीक्षण र स्वाब संकलन

.

Zoom In Zoom Out Read Later Print
 फिदिम । फ्रन्टलाइनमा काम गर्ने पाँचथरका पत्रकार सहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको आरडीटी परीक्षण र स्वाब संकलन गरिएको छ । कोरोना भाईरसको संक्रमण तिब्र रुपमा फैलिइरहेको बेला सञ्चारकर्मी, सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिइएको हो । 
  
जिल्लाका क्रियाशिल आठ जना पत्रकारको स्वाब संकलन र नौ जना पत्रकारको आरडीटी परीक्षण गरिएको हो । आरडीटी परीक्षण गराएका सबै पत्रकारको रिपोर्ट नेगेटिभ आएको छ । स्वाब संकलन गरिएका आठ जनाको रिपोर्ट आउन केही दिन लाग्ने स्वास्थ कार्यालयले जनाएको छ । परीक्षण गरिएको स्वाब बिराटनगर पठाइएको स्वास्थ्य कार्यालय पाँचथरका नारायण जोशीले बताए ।
  
मंगलबार पाँचथरमा पत्रकार, सुरक्षाकर्मी र स्वास्थ्यकर्मी गरी जम्मा एक सय १६ जनाको स्वाब संकलन गरिएको हो । त्यस्तै गरी एक सय ३५ जनाको आरडीटी परीक्षण गरिएको हो । परीक्षण गराएको सबैको आरडीटी रिपोर्ट नेगेटिभ आएको छ ।  
स्वास्थ्य कार्यालय पाँचथरको प्राविधिक सहयोग र नेपाल पत्रकार महासंघ पाँचथरको  समन्वयमा पत्रकारहरुको आरडीटी परीक्षण र स्वाब संकलन गरिएको हो । अन्य जिल्लामा पत्रकारलाई पनि कोरोना संक्रमण देखिएकाले पाँचथरका पत्रकारहरुको स्वास्थ्यलाई ख्याल गरेर परीक्षणलाई प्राथमिकतामा राखिएको महासंघका अध्यक्ष लवदेव ढुंगानाले बताए । 

स्वाब परीक्षणका नतिजा आउन केही दिन लाग्ने भएको छ । आरडीटी परीक्षण गराएका नौ जना पत्रकार सहित एक सय ३५ जनाको रीपोर्ट नेगेटिभ आएको छ ।