एक स्कुल पाठशालामा

.

Zoom In Zoom Out Read Later Print
सगुन सुसारा 

‘विद्यार्थीहरु आफू असफल भएकोमा लाज मान्दैनन् र आफ्नो असफलताका लागि आफूलाई दोषी ठान्दैनन् तर शिक्षक वा कापी जाँच्ने परीक्षकलाई दोष्याएर उनीहरुप्रति आक्रोशित हुन्छन् वा रिस पोख्छन् । यही कुरा राजनीतिक कार्यकर्ता र व्यापारीमा पनि लागू हुन्छ जो आफूले जिम्मेवारी पूरा गर्न नसकेकोमा न लाज मान्छन् न दोष स्वीकार्न तयार हुन्छन् ।’ (विष्ट डोरबहादुर, भाग्वाद र विकास, सन २०२० : ८०, विष्ट परिवार, नेपाली संस्करण) 

२०४० सालमा श्री विद्यापरिश्रम प्रा.वि.को स्थापनासँगै मेरो औपचारिक शिक्षा पनि शुरु भयो । पापाले चाँहदा चाँहदै पनि उच्च शिक्षाको लागि अवसर पाउनु भएन । सायद त्यसको भोकले होला हामी (सूर्य र म) लाई पाठशालामा भर्ना गराइ दिनु भयो । पहिलो दिन पापासँग गएकाले त्यति अप्ठ्यारो केही लागेन । बरु, अरु साथी भाइको हातमा कापी डटपेन देख्दा रोमाञ्चित भएँ । किनभने मसँग खाली हात थियो । साँच्चै अचम्ममा परें । कस्तो राम्रो कापी डटपेन ? मैले पाउने कि नपाउने ? कति खुलदुली बढी रह्यो । र त्यो पहिलो दिन भर्ना गरिसकेपछि हामी पापासँगै घर फर्कियौं । जीवनको एउटा अनुपम मोड थियो – त्यो । दोस्रो दिन हामी दाजुभाइ मात्र स्कुल जान हिच्किचायौं । पापाले लौरो देखाए पछि काम्दै बाटो लाग्यौं । अलि नौलो वातावरण, कम साथीको संगत, अन्तरमुखी र अल्पभाषी थिएछु । तर त्यो दोस्रो दिन मै कत्ति खुलेका साथीहरु ? सरसँग सिधै कुरा गरेको देखेर अरु अचम्ममा परें । 

क्रमशः दिनचर्या चल्न थाल्यो । त्यही स्कुलबाट मैले प्राथमिक तह गरेर अझ उच्च शिक्षाका लागि दुर्गा मा.वि. रबि लागें । यद्यपि आजसम्मको त्यो प्रारम्भिक र औपचारिक शिक्षाका खातिर लागेको स्कुलको केही सम्झना र अनुभवहरुसम्म आउँदैछु । वास्तवमा जीवनका अनुभूतिहरु कति हुन्छन् कति ? त्यसैको सानो पाटोमा छु । यो नितान्त व्यक्तिता हो ।

हो, विद्यापरिश्रा प्रा. वि.मा अध्ययन थाल्दा बमेन्द्र बोहोरा शिक्षक भएर आए । सामान्य अक्षर उसैबाट सिकियो । पछि के कारणले अवकाश हुनु प¥यो त्यो मलाई थाहा भएन । आज सम्झिंदा योग्यता हो कि ? भन्छु । उनीसँग आज पनि सम्बन्ध छ – केवल गाउँले दाजुभाइको हिसाबले । त्यो विद्यालयमा शिक्षकहरुको आउने जाने क्रम चलिरह्यो । ती मध्ये केही शिक्षक र उनीहरुको सम्झना छ । जसले मलाई उच्च शिक्षा हासिल गर्न, केही लेख्न प्रेरित गरिरहन्छ । आज यो स्तम्भ लेख्दा डर पनि लागिरहेको छ । कतै मैले मेरा गुरुहरुको अनादर त गरिरहेको छैन । तथापि एउटा कथा सम्झन्छु – सोधिन्थ्यो रे – ‘यो रुख सीधा छ कि बाङ्गो ?’ त्यसबेला रुख बाङ्गो भए पनि सीधा छ भन्नु पथ्र्यो रे । त्यही सिलसिलामा एक जनाले भनेका थिए रे – ‘सरकार मेरो गर्धन चिलाएको हो कि क्या हो बाङ्गो पो देख्छु ।’ हो, एत्ति भनेर आफूलाई चित्त बुझाउँछु । तर चित्त मेरो मात्रै बुझाउने पनि होइन । खण्डनको लागि कठघरामा उभिन तयार छु । 

कक्षा चारमा पुगे पछि एकजना नयाँ शिक्षक थपिए – योगेन्द्र चौधरी । शुरुमा हामी पहाडेलाई त्यो चौधरी थर उच्चारण गर्न निकै गाह्रो प¥यो । अचम्म पनि लाग्यो । मैले बचपनमा सुनेको तर तराईमूलका (हामीले भन्ने भाषामा मधिशे) मान्छेहरु त सर्प र गड्यौला खान्छन् । त्यही भएर चौधरी सरको बाक्लो ओठमा सर्प र गड्यौलाको छाप खोजिरहन्थें । हुन त सर्प र गड्यौला खाने जाति पनि हुँदा रहेछन्, नेपालमा । तर चौधरी सरले खानु भयो कि भएन मलाई थाहा छैन । यो जाति पिच्छेको विशेषता हो । उनै चौधरी सरले पढाइका क्रमका दिएको सँजायले आज पनि झस्कन्छु । चौधरी सरको बिषय अङ्गे्रजी थियो । विशेष गरी गृहकार्यमा speling  (हामी स्पिलिङ भन्थ्यौं) याद गर्न दिनु हुन्थ्यो । भोलि आफुले सोधेको speling  पुरा गर्न नसके हातको औंलामा डटपेन राखेर बेस्सरी च्यापि दिन्थे । यो क्रममा एकपटक मुतेको पनि छु । र उनको अर्को तरिका पनि थियो सँजाय दिने । भुँडीमा च्याप्प समातेर मासु तानिदिने । त्यो सँजायको पनि निकै पीर लाग्थ्यो । यही speling  को कुरामा एउटा रमाइलो र कहिल्यै नबिसिर्ने सम्झना छ । जुन शब्दले सधैं सधैं सँजायको भागिदार बनायो । त्यो कक्षाभरिमा राईहरु म र मण्डल मात्र थियौं । साँच्चै सोझाहरु । मण्डल त आरुबोटेबाट पाँच कक्षा पढेर एता चारमा पढ्न आएको उसलाई त अलि थाहा हुनु पर्ने भन्ने लाग्थ्यो, कनि भने एक कक्षा माथि त पढी सकेको थियो । तर सँजायको भागिदार म भन्दा उ बढी बन्थ्यो । त्यसमा पनि अरु सहपाठी त क्षेत्री, नेवार र गहतराज । कक्षामा सबभन्दा कमजोर विद्यार्थी हामी थिएछौं । कुरा speling  को छ । चौधरी सर हामीलाई ‘राइट’ को speling  सोध्थे । मलाई आउने right (ठिक) । अर्को राइटको भन । मैले कहिल्यै write (लेख्नु) जानिन, त्यो स्कुल नछोडुञ्जेल र जहिले पनि write को speling नजानेर कुटाइ खाइ रहनु प¥यो । आज मिठो सम्झना बनेको छ । 

पछि एकजना शिक्षकको विदाई भयो । उनी थिए किशोर पाण्डे । उनले हामीलाई कक्षा पाँचमा अङ्ग्रजी पढाउँथे । उनको विदाई मन्तव्यमा भनेको आज सम्झन्छु । ‘मैले तिमीहरुलाई केही दिन आएको. थिएँ । तर आज जाँदैछु । संसारको रीतै यस्तै रहेछ । तर पनि तिमीहरु पढ्दै जाओ । कुनै दिन कुनै क्याम्पसमा हाम्रो भेट होला ? शुभकामना छ तिमीहरुलाई ।’ 

त्यस दिनदेखि मैले कल्पना गरेको हो क्याम्पस पढ्छु भनेर । र मैले के सोचेँ भने उनै किशोर पाण्डेले पुनः त्यहाँ पनि पढाउने छन् । सायद, त्यो एउटा सुखद क्षण हुनेछ । तर त्यो दिन कहिल्यै आएन । कलेजको पढाई स्नातकोत्तर सकेँ । तर भेट भएन पाण्डे सरसँग । तर उनलाई अचेल पनि भेट्छु रबिबजार नजिक उही प्रा.वि.का शिक्षकका रुपमा । खैर, समयले पुनः मिलन गरायो भने हामी ठीक उल्टो रुपमा पनि भेटिन सक्छौं भन्ने पनि लाग्दछ । यो सबै इच्छा र परिस्थितिको खेल हो । मर्नलाई पनि त अलि उमेर ढल्क्यो भन्दैमा नहुँदो रहेछ । यौवनमै पनि सास छोड्नु पर्छ । खैर यी जम्मै समयको खेल हो । 

थुप्रै बर्ष अघि श्री विद्यापरिश्रम प्रा.वि.स्कुल गएको थिएँ । निरीक्षण गर्न व्यक्तिगत रुपमा । प्रेम घिमिरे प्रधानाध्यापक थिए त्यसबेला । मैले जम्मै विद्यालयको वस्तुस्थितिको जानकारी लिएँ । केही सुझाव पनि राखेँ । सुझाव दिन हामी नेपालीहरु माहिर छौं । फिदिमको बसाई लामो हुन लागेछ । र पनि पापाको घर जाँदा त्यो आफुले पढेको स्कुल बेलाबेला गइ राख्थेँ, अहिले जान छाडेको छु । मैले अध्ययन गरेको केही बर्षसम्म त्यो विद्यालय साह्रै राम्रो थियो । त्यहाँबाट उतिर्ण भएर जाने विद्यार्थीहरुले अन्य स्कुलमा पनि बाजी मार्थे । तर केही बर्षदेखि त्यो स्तर घटेको छ । त्यसैलाई मध्यनजर गर्दै सुझाव पेश गरेको थिएँ । 

कुराकानी कै क्रममा मैले सरलाई भनेको थिएँ – सर उच्च शिक्षाका लागि प्रेरित गर्नु प¥यो । साँच्चै भन्नु पर्दा यहाँबाट गएका विद्यार्थीहरुले एसएलसी पास गर्न सकिरहेका छैनन् । अनुशासनलाई कडाई गर्नु प¥यो । पछिल्ला समयका विद्यार्थीहरुमा अनुशासनको ख्याल उति पाइन । हुन त सबैमा त्यो नहोला ? त्यसपछि उहाँले (प्रधानाध्यापकले) त्यसलाई व्यवस्थापन गर्ने बताउनु भयो । म केही आस्वस्त भएँ । 

हामी परिवारमा चेली माइती गरेर जम्मा नौ जना छौं । ती सबैले श्री विद्यापरिश्रम प्रा.वि.बाटै प्राथमिक शिक्षा आरम्भ गरि धेरैले (सबैले भन्दा पनि हुन्छ) स्नातकोत्तर सक्यौं । जेठा सुसन राई एम. ए, एम.एड । माइला सुर्यविक्रम राई एम. ए, एम. एड । साइला कुमार राई एम. ए, एम. एड । काइला श्रीजङ राई एम. एस्सी । जेठी सुमीता राई एम. एड । अस्मिता राई  एम. एड । साइली प्रियङका राई एम. पि. ए (अध्ययनरत) कान्छी अम्बिका राई एम. बि. एस (अध्ययनरत) । कान्छा भाइले पनि प्राथमिक शिक्षा चाँही यहाँ बाट लियो । तर उच्च शिक्षा हासिल गर्न सकेन । साढे तीन दशक अघिको विद्यालयीय सम्झना यस्ता रहे । बाँकी, शिक्षाको उज्यालो घाममा बादल नलागोस ।